२०८२ साल मंसिर २३ गते बागलुङ जिल्ला स्थित स्थानीय तह,विकास निर्माणसंग सम्बन्धित सरकारी कार्यालयहरु र जिल्ला समन्वय समिति बीच अन्तर सरकारी समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा स्थानीय तह र सङ्घीय तथा प्रदेश कार्यालयहरुले प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो बैठकमा भएका निर्णयहरु यस प्रकार छन ।
निर्णय नं. १
जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयहरुबाट यस बागलुङ जिल्लामा चालु आ.व.०८२/०८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरु, बजेट विनियोजन र हालसम्मको प्रगति तथा कार्यान्वयनको अवस्थाका सम्बन्धमा बैठकमा प्रस्तुत भई छलफल गरियो ।
निर्णय नं.२
सरकारी कार्यालयहरुले यस चालु आ.ब.०८२/०८३ को योजना तथा कार्यक्रमहरुको विवरण यथाशिघ्र सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिमा उपलब्ध गराउने ।
निर्णय नं. ३
योजना तथा कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सबै स्थानीय तह, संघ/प्रदेश कार्यालयहरु र गैर सरकारी संस्थाहरुले समन्वय गरी कार्य गर्ने ।
निर्णय नं.४
चालु आ.व.०८२/०८३ मा सञ्चालित योजना तथा कार्यक्रमहरुलाई गुणस्तरीयता र दिगोपनाको सुनिश्चितता सहित समयमै सम्पन्न गर्न कार्ययोजना र कार्यतालिका बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
निर्णय नं. ५
सडक लगायत अन्य पूर्वाधारका योजनाहरुको निर्माण तथा मर्मत सम्भारको कार्य गर्दा साविकमा रहेका खानेपानी मुहान, धारा, पाइप लाईन,सिँचाई कुलो, पोखरी जस्ता संरचनाहरुमा क्षति नपुग्ने गरी गर्ने र क्षति पुग्न गएमा सोही योजना अन्तर्गत पुनःनिर्माण तथा मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने ।
संघीय तथा प्रदेश कार्यालयहरुबाट ठेक्का लगाई निर्माण व्यवसायीको ढिलासुस्ती तथा अन्य कुनै कारणबाट समयमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेका सडक, पुल, भवन लगायतका आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सम्बन्धित कार्यालय/आयोजनाबाट आवश्यक पहल गर्ने ।
निर्णय नं. ७
पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गत बागलुङ- बिहुँ खण्ड, कालिगण्डकी कोरिडोरको मालढुङ्गा-बलेवा खण्ड र सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक आयोजनाको बागलुङ खण्ड र कुश्मीसेरा-बरेङ शान्तिपुर सडकको कुश्मीसेरा-राङखानी प्रथम खण्ड, जैमिनी नगरपालिकाको प्रशासकीय भवन, गलकोट नगरपालिकाको प्रशासकीय भवन र बागलुङ नगर अस्पताल भवन निर्माण कार्य सुस्त देखिएकाले उक्त सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित आयोजनाहरु र स्थानीय तहले पहल गर्ने ।
निर्णय नं. ८
कार्यक्रम तथा योजनाहरुको योजनागत रुपमा सूचनामूलक होर्डिङ बोर्ड राख्ने र समय समयमा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा गरी सुशासन र पारदर्शिता कायम राख्ने व्यवस्था मिलाउने ।
निर्णय नं. ९
योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता कायम राख्न र समयमै कार्यान्वयन गराउनका लागि सम्बन्धित कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति समेतबाट अनुगमन गर्ने व्यवस्था मिलाउने ।